काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् ।
बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए ।
अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए । किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उनको भनाइ छ ।
‘सरकारले उखु किसानलाई दिनुपर्ने जुन अनुदान हो, त्यो दिनपर्दछ । र समग्र रूपमा हेर्दा खेरी किसान भनेको अन्नदाता हुन् । जसले अन्न उत्पादन गर्छन्, अरूलाई बचाउँछन् । संसारलाई पाल्छन् । तिनकै प्रति राज्यको कुनै नीति नै छैन,’ उनले भने, ‘कुनै नीति छैन, कुनै योजना छैन । न किसानहरूको उत्पादनको अधिकारका लागि न कुनै व्यवस्था नै छ । अहिले नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षित गरेको क्षेत्र भनेको किसान हो । किसानमा पनि उखु किसान त झन् सबभन्दा बढी अपहेलित भएको छ ।’
किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको उनले बताए । सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उनको जोड थियो ।
‘किसानहरूलाई दिनुपर्नेमा समयमा न उचित मूल्य पाएको छ, न तोकेको रकम पाएको छ । वर्षौंसम्म किसानलाई पेलिराखेको हुन्छ,’ उनले भने । यादवले सरकारले तत्काल गर्नुपर्ने दुई वटा काम अविलम्ब गर्नुपर्ने उनले बताए ।







