काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज काँकडभिट्टा-लौकही सडक योजनाको (पूर्वी खण्ड) मा भइरहेको पूर्वपश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिको अनुगमन गरेका छन् ।
मन्त्री दाहालले मेचीनगर नगरपालिका कार्यालयमा आयोजित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा राजमार्गको स्तरोन्नतिका क्रममा देखा परेका समस्या र जनताका मागलाई व्यावहारिक रूपमा समाधान गरिने बताए ।
सो अवसरमा मन्त्री दाहाललाई मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले पूर्वीनाका काँकडभिट्टादेखि प्यारीभिट्टा बसपार्कसम्म ६ लेन सडक विस्तार गरिनुपर्नेलगायत सात बुँदे मागपत्र बुझाएका थिए ।
नगरप्रमुख बुढाथोकीले पूर्वीद्वार काँकडभिट्टामा प्रसिद्ध साहित्यकार गोपाल योञ्जनको सालिक राख्न र घण्टाघर बनाउन राजमार्ग छेउमै स्थान उपलब्ध गराइदिन माग गरेका छन् ।
यसैगरी, विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतराले विर्तामोडको मुक्ति चोकमा रहेको ऐतिहासिक जनआन्दोलन स्तम्भलाई राजमार्ग विस्तारका क्रममा हटाउँदा राजमार्गकै कुनै छेउमा सो स्तम्भलाई राख्ने स्थान उपलब्ध गराइदिन माग गरिन् ।
दमक, मेचीनगर, कनकाई र पथरी क्षेत्रबाट राजमार्ग विस्तारका लागि बनाइएको डिजाइनमा थोरै फेरबदल गरेर व्यावहारिक बनाउन मन्त्री दाहालसमक्ष माग गरिएको थियो । मन्त्री दाहालले आजै दमकस्थित नवनिर्मित काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड) कार्यालयको उद्घाटन गरे । सो अवसरमा मन्त्री दाहालले सडक विस्तारको काम निर्धारित समयमै सम्पन्न गरिसक्न निर्देशन दिए।
आयोजनाका प्रमुख सुनिलबाबु पन्तका अनुसार उक्त कार्यालय भवन रु. आठ करोड सात लाखको लागतमा निर्माण भएको हो । आयोजनाको काम सम्पन्न भएपछि उक्त भवन सडक विभागलाई हस्तान्तरण गरिने उनले जानकारी दिए। कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसी, एसियाली विकास बैंक (एडिबी) परियोजना प्रमुख चूँडाराज ढकाल, आयोजना प्रमुख सुनीलबाबु पन्तलगायतको उपस्थिति रहेको थियो ।
पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटरलाई पूर्वीखण्ड मानेर सडकलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ । निर्माणको ठेक्का एब्रास्कन कालिका जेभीले लिएको छ ।







