बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक नेपालकै भूभाग भएको स्पष्ट गर्दै हालै भारतसँग भएको बुझाइप्रति नेपाल सरकारले कडा आपत्ति जनाएको बताएका छन्। तिञ्जिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालको सीमा–अखण्डता र सार्वभौमिकताको सवालमा कुनै सम्झौता सम्भव नभएको अडान राखेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल–चीन सम्बन्ध पाँच सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्वमा अघि बढेको बताए। उनले आगामी शाङ्घाई सहयोग संगठन सम्मेलन २०२५ मा नेपालको सदस्यता आकांक्षामा चीनको सहयोग अपेक्षा गर्दै एससीओ प्रवेशका लागि समर्थन गर्न अनुरोध गरे।
वार्तामा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरू छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरे। मलखाद, पेट्रोलियम अन्वेषण, मानव स्रोत विकास, जलवायु प्रतिरोधात्मक क्षमता तथा जनस्तरीय सम्पर्क विस्तारलाई प्राथमिकता दिनुपर्ने धारणा पनि उनले राखे।
राष्ट्रपति सी जिनपिङले नेपाललाई “समृद्ध नेपाल, सुखी नेपाली” लक्ष्य हासिल गर्न चीन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघ र शाङ्घाई सहयोग संगठनलगायत बहुपक्षीय संस्थाहरूमा नेपालसँग सहकार्य गर्ने स्पष्ट संकेत दिए। साथै, ‘वन चाइना पॉलिसी’प्रति नेपालको दृढ समर्थनप्रति आभार व्यक्त गर्दै उच्च गुणस्तरीय बीआरआई परियोजनामार्फत विकास सहकार्यलाई अझै सुदृढ बनाइने बताए।
प्रधानमन्त्री ओली आज अपराह्न तिञ्जिन पुगेका छन्। तिञ्जिन बिन्हाइ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चिनियाँ मन्त्री, तिञ्जिन जनप्रतिनिधि कांग्रेसका अध्यक्षलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए। प्रधानमन्त्री ओली भोलि शाङ्घाई सहयोग संगठन सम्मेलनमा सहभागी हुने र राष्ट्रपति सी जिनपिङ तथा उनकी पत्नी पेङ लीयुवानले आयोजना गर्ने भोज तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको दूतावासले जनाएको छ।







