काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले भूक्षय नियन्त्रणमा वृक्षरोपणको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । उनले वृक्षरोपणले वातावरणीय सन्तुलन कायम गर्न तथा यस क्षेत्रमा हरियाली वृद्धि गर्न सहयोग पुग्ने बताए ।
निजामती दिवसका अवसरमा वन तथा भू-संरक्षण विभागले कीर्तिपुरस्थित बागवानी केन्द्रमा आयोजना गरेको कार्यक्रममा वृक्षारोपण कार्यको शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् । कार्यक्रममा विभिन्न प्रजातिका फलफूल र बिरुवा रोपण गरिएको थियो ।
यस्तै वन मन्त्रालयका निमित्त सचिव शिवकुमार वाग्लेले निजामती सेवा दिवस मूल समारोहअन्तर्गत विभागले निरन्तर वृक्षारोपण गर्दै आएको जानकारी दिए । विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले भूक्षय नियन्त्रण र वातावरण संरक्षणका लागि वनजंगल जोगाउनुपर्नेमा जोड दिए ।
बागवानी केन्द्रका प्रमुख दिनेश सापकोटाले केन्द्रले गत वर्ष विभिन्न बिरुवा बिक्रीमार्फत एक करोड दुई लाख रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए । साथै उनले फलफूलको राष्ट्रिय स्रोत केन्द्रका रूपमा समशीतोष्ण र सुन्तला प्रजातिमा अनुसन्धान तथा प्रवर्द्धन गर्दै किसानलाई तालिम र प्रविधि उपलब्ध गराइरहेको बताए ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा, श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, विभिन्न मन्त्रालयका सहसचिव, महानिर्देशक तथा निजामती कर्मचारीको समेत सहभागिता रहेको थियो ।
वि.सं. २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो । यस वर्ष २२औँ निजामती सेवा दिवस मनाइएको हो ।







