काठमाडौँ । जेनजेड पुस्ताको आन्दोलन तीव्र बन्दै जाँदा प्रदर्शनकारीको मृत्यु हुने संख्या बढेपछि सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो । यद्यपी सोमबारको बैठक नियमित भएपनि आजको विषयमा बढी केन्द्रित रहेको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।
आन्दोलनका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको र सयौँ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने तीन जना पत्रकार समेत घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसै विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएका हुन् ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आक्रोशित नयाँ पुस्ता (जेनजेड) काठमाडौँसहित देशभर सडकमा उत्रिएको छ । माइतिघरदेखि नयाँबानेश्वरसम्म उनीहरूले प्रदर्शन जारी राखेका छन् ।
सो क्रममा प्रहरीसँग झडप चर्किँदा अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रयोग गरिएको छ भने सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्ने प्रयास भएको प्रहरीले जनाएको छ ।







