काठमाडौँ । पीपी प्रसाई फाउन्डेसनले नेपालका शिक्षा र पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई “पीपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड २०२५” प्रदान गरेका छन् । ढकालको कार्यकालमा नेपाल भ्रमण वर्ष १९९८ अभियान सफल भएको थियो भने उनको नेतृत्वमा नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो ।
फाउन्डेसनले यसैगरी सातै प्रदेशका सामुदायिक विद्यालयका शिक्षकलाई “उत्कृष्ट शिक्षक पुरस्कार–२०८२” बाट सम्मानित गरेको छ । सम्मानित शिक्षकमा कोशी प्रदेशका केशवराज कट्टेल, मधेश प्रदेशका जितेन्द्र राम, बागमती प्रदेशकी अप्सरा कुमारी घिमिरे, गण्डकी प्रदेशका विष्णु घिमिरे, लुम्बिनी प्रदेशका प्रभात सुवेदी, कर्णाली प्रदेशका देवेन्द्र तिमिल्सिना उपाध्याय र सुदूरपश्चिम प्रदेशका हेमराज विष्ट छन् ।
प्रतिष्ठानले प्रत्येक उत्कृष्ट शिक्षकलाई रु. ५० हजार नगद, पुरस्कार तथा सम्मान प्रदान गरेको छ । साथै, शिक्षक कार्यरत विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।
पुरस्कारका लागि देशभरबाट आवेदन संकलन गरी शिक्षण शैली, विद्यार्थीको प्रतिभा विकास, समुदायसँगको सम्बन्ध, तालिममा सिकेको ज्ञानको प्रयोग, सिकाइ उपलब्धि लगायत आधारमा चयन गरिएको हो ।
स्व. पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा स्थापना गरिएको यो पुरस्कारलाई आगामी दिनमा अझ समावेशी र व्यापक बनाउने योजना फाउन्डेसनले जनाएको छ ।
प्रसाईको २०५६ भदौ २० मा हवाई दुर्घटनामा निधन भएको थियो । उनको ग्रामीण क्षेत्रमा शिक्षा र पर्यटन विकास गर्ने सपनालाई मूर्तरूप दिन २०६७ सालमा पीपी प्रसाई फाउन्डेसन स्थापना गरिएको हो ।







