काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले घोषित मितिमा चुनाव सम्पन्न गर्नका लागि अन्तरिम सरकारलाई सबैले सघाउनुपर्ने बताएका छन् ।
उनले जेन जेड आन्दोलनका उपलब्धिहरूलाई हाइज्याक गर्ने र धोका दिने सम्भावना हुने भएकाले यसमा खबरदारी गर्न अपिल गरेका छन् ।
‘राष्ट्रिय सार्वभौमिकता र लोकतन्त्रको रक्षाका लागि सचेत भएर अघि बढ्नुपर्छ । जेन जेड आन्दोलनको मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसका उद्देश्यलाई घात गर्ने काम नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ,’ श्रेष्ठले बुधबार भिडियो वक्तव्य जारी गर्दै भनेका छन्,’अहिले घोषित मितिमा चुनाव गर्ने र सरकारलाई सफल बनाउनुपर्छ ।’
उनले जेन जेड आन्दोलनको माग भ्रष्टाचार र सुशासन पनि भएकाले यसमा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनले सिंहदरबार लगायतका सरकारी कार्यालय भवनहरूमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उनले जेन जेड आन्दोलनका नेताहरूलाई नै दमन गर्ने कार्य भए त्यो प्रतिक्रान्तिकारी दमन हुने उनको धारणा छ । ‘अघिल्लो दिनको हत्याबाट केही प्रतिक्रियात्मक गतिविधि जनसमुदायबाट भएका रहेछन् भने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । जुनसुकै आन्दोलनमा यस्ता गतिविधि र घटना हुन्छन् नै’ उनले भनेका छन्,’ कारबाहीको नाममा आन्दोलनकारी माथि नै प्रतिक्रान्तिकारी दमन गरियो भने स्वीकार्य हुन सक्दैन ।’







