काठमाडौँ । जेन जेड युवा आन्दोलनको क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् ।
गृह मन्त्रालयको निर्णय बमोजिम जेन जेड आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरूमा डेडिकेटेड जेन जेड क्लिनिक समेत स्थापना गरिएको छ ।
घाइतेहरूको फलो अप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशभरका १६ अस्पतालहरूमा जेन जेड क्लिनिक स्थापना गरिएको हो । साथै जेन जेड आन्दोलनका घाइतेहरूलाई अस्पतालसम्म नि:शुल्क आउँ-जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।
जेन जेड आन्दोलनका घाइतेहरूको उपचारमा सहजताका लागि अस्पतालहरूमा फोकल व्यक्तिहरू पनि तोकिएको छ ।
काठमाडौँ उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन जेड क्लिनिक स्थापना गरिएको छ ।
कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेन जेड क्लिनिक स्थापना गरिएको छ ।
यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा जेन जेड क्लिनिक स्थापना गरिएको छ ।
लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेन जेड क्लिनिक स्थापना गरिएको छ ।








