काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोड दिँदा आम नागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकाष्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामको ‘फेसबुक पेज’ सञ्चालनमा ल्याएको छ । यी दुई सञ्जालमा नियमित रूपमा मौसमी सूचना दिँदा सूचना प्रवाह र प्राप्तिमा सहज भएको हो ।
मौसमी सूचनाका साथै बाढी र वर्षाको अवस्थालगायत अन्य जनचेतनामूलक जानकारीहरू दिने गरिएको छ । नेपाल वेदर फोरकाष्टमा आज आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श भनेर सन्देश दिइएको छ ।
सन्देशमा भनिएको छ, ‘कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सबैमा अनुरोध छ ।’
सञ्जालमा मनसुन सक्रिय भएका बेलामा या अन्य बेलामा मनसुनबारे प्राविधिक कुराका साथै कहाँकहाँ पानी पर्छ भनेर शब्द तथा दृश्यमा विवरण राख्ने गरिएको छ । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई निक्कै सजिलो भएको छ ।
‘नेपाल बाढी सूचना’मा पनि त्यसैगरी जानकारीमूलक दृश्य सामग्री राखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त दृश्य सन्देशमा भनिएको छ, ‘पानी पर्न थालेपछि आफू नजिकैको खोलामा बाढी आउला कि नआउँला भन्ने चासो तपाईँलाई पनि हुनसक्छ । यसका लागि तपाईँ आफैँले हाम्रो वेबसाइट र सामाजिक सञ्जाल हेरेर बाढीबारे थाहा पाउन सक्नुहुन्छ ।’







