काठमाडौँ । यही असोज ३१ गते देखि लागु हुने गरी गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ । संघीय सरकारको निर्देशनपछि मोरङको जहदा गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको हो ।
मन्त्रीपरिषद्को असोज ५ गतेको निर्णय, अर्थ मन्त्रालयको असोज ७ गतेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको पत्रका आधारमा उक्त निर्णय कार्यान्वयन गरिएको पालिकाले जनाएको छ।
निर्णयअनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्न नपाउने व्यवस्था गरिएको छ। सोही अनुरूप गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेक अस्थायी नियुक्ति भएका तथा करार र ज्यालादारी सेवामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको नियुक्ति तथा सेवा सम्झौता असोज ३१ गतेदेखि लागु हुने गरी रद्द गरेको जनाएको छ।







