भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ ।
प्रहरीले मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्वासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राइफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
त्यसैगरि गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवाल कारागार कार्यालय काठमाडौँबाट फरार भएका कैदीलाई प्रहरीले चाँगुनारायण नगरपालिका-६ बेसिटोलबाट पक्राउ गरेको छ ।
जबर्जस्ती करणी मुद्दाको कैद भुक्तान गरिरहेका कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका-१६ का २९ वर्षीय नीरज तामाङलाई प्रहरी प्रभाग खरिपाटीको टोलीले पक्राउ गरी आज जगन्नाथदेवाल कारागार, काठमाडौँ पठाएको प्रहरी नायब उपरीक्षक जबेगुले बताए







