काठमाडौँ। अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारहरूमा उल्लेखनीय वृद्धि भएको छ ।
यो सफलतालाई विश्वको सबैभन्दा ठूलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको संकेतका रूपमा लिइएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा थप १०० प्रतिशत भन्सार शुल्क लगाउने योजना ‘अब प्रभावकारी रूपमा टेबलबाट हटाइएको’ बताए ।
बेसेन्टले एबिसी न्युजसँगको अन्तर्वार्तामा भने, ‘शुल्कहरू हटाइनेछ ।’ उनका अनुसार चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण ढिलाइ गर्न र ‘पर्याप्त मात्रामा’ अमेरिकी सोयाबिन खरिद गर्न सहमति जनाएको छ ।
चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले वार्तालाई ‘स्पष्ट, गहिरो र रचनात्मक’ बताउँदै भन्सार शुल्क, निर्यात नियन्त्रण र फेन्टानिल नियन्त्रण सहयोगका विषयमा ‘प्रारम्भिक सहमति’ मा पुगेको जानकारी दिएका छन् ।







