काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग बेग्लै छलफल गरेका छन्। ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरेका हुन्।
बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिब ७५ जना सहभागी थिए। सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि निरन्तर गुट भेला राख्दै आएका छन्।
भेलाले महामन्त्री गगन थापाले अघि सारेको कार्यतालिका अनुसार महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकालेको एक पदाधिकारीले बताए।
बैठकले महाधिवेशन भन्दा पनि अब चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको ती नेताले बताए।
यद्यपि, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। इतर पक्षका नेता डा. शेखर कोइराला पनि चुनाव अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
संस्थापन पक्षले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्नेसम्मको तयारी छ। महामन्त्रीद्वयको सक्रियतामा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन्।
आजै प्रवक्ता डा. प्रकाशशरण महतले पनि विशेष महाधिवेशन कुनै अचुक औषधि नभएको भन्दै मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका छन्।







