२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“भ्रष्टाचार गरे मेरै स्वर्गीय बुबालाई पनि थुन्न तयार छु, सहिद परिवार अलपत्र पार्दिनँ” : प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बुधबार सम्पन्न त्रिपक्षीय संवादको समापनका क्रममा भ्रष्टाचारविरुद्ध अडिग प्रतिबद्धता व्यक्त गर्दै आफ्नै परिवारमाथि पनि कानुनी कारबाही गर्न पछि नहट्ने दृढता देखाएकी छिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुबालाई पनि थुन्न तयार छु।” उनले थपिन्, “हामी डराउँदैनौँ, भनेको कुरा पुर्‍याउँछौँ।” मन्त्री अनिलकुमार सिन्हालाई अनुरोध गरेर सुशासनको अभियानमा साथ ल्याएको उल्लेख गर्दै उनले थन्किएका फाइलहरू खोल्दै दोषीहरूलाई पक्राउ गरिएको र आगामी दिनमा थप कारबाही गरिने बताइन्।

प्रधानमन्त्रीले आफू लडाकु स्वभावकी भएको बताउँदै भनिन्, “म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरू सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ।” उनले आफ्नो दृढताले राजनीतिक वातावरणमा नयाँ विश्वास जगाएको उल्लेख गरिन्।

संवादको समापन मन्तव्यमा प्रधानमन्त्री कार्कीले आफ्नो अनिच्छुक यात्राबाट जिम्मेवारी ग्रहणसम्मको कथा स्मरण गरिन्। उनले भनिन्, “म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ भनेर हिँडेकी थिएँ। तर देश संकटमा परेपछि राष्ट्रपतिज्यूले जिम्मेवारी लिन आग्रह गर्नुभयो, अनि युवाहरूको अपिलले मन पग्लियो।”

प्रधानमन्त्रीले ती क्षणहरू भावुक रूपमा स्मरण गर्दै भनिन्, “जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनुभयो।” उनले ती निर्दोष बालबालिका र घाइते युवाको पीडा सम्झिँदै भनिन्, “मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।”

प्रधानमन्त्रीले सहिद, घाइते र परिवर्तनकामी युवाको आवाज सम्बोधन गर्ने वाचा दोहोर्‍याउँदै भनिन्, “हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पुर्‍याउँछौँ।”

सरकारको प्राथमिकता र कार्यगत दृष्टिकोणबारे उनले भनिन्, “हामी चुनावमा केन्द्रित छौँ। प्रत्येक दिन छलफल र गृहकार्य गर्छौँ, कामको प्रगति विवरण लिन्छौँ। समस्याहरू फुकाउन लागिपरेका छौँ। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै आत्मविश्वास उठाउँदै छौँ।” उनले प्रहरीको मनोबल वृद्धि र भागेका कैदी बन्दी नियन्त्रणका प्रयासलाई पनि जोड दिइन्।

३५ वर्षदेखि मनोबल गिराउने शक्तिहरू अहिले नै मनोबलको कुरा उठाइरहेको भन्दै उनले व्यङ्ग्य गरिन्, “भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा कसरी उठाउँछौँ र ? तर, हामी मनोबल उठाउन लागेका छौँ। किनभने हामी सुधारतर्फ अघि बढिरहेका छौँ।”

प्रधानमन्त्री कार्कीले विदेशी हस्तक्षेपका आरोपलाई अस्वीकार गर्दै भनिन्, “विदेशीले हस्तक्षेप गर्छ भन्ने कुरा तर्साउने हतियार मात्र हो। मलाई कुनै विदेशीले आएर यसो गर र नगर भनेको छैन। हामी राजदूतहरूलाई सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा होइन।” उनले विदेशी हस्तक्षेपको कुरा ‘गलत भाष्य’ भएको स्पष्ट पारिन्।

राजनीतिक अवरोध र आलोचनामाथि प्रतिक्रिया दिँदै उनले भनिन्, “यहाँको अनौठो चलन छ-काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी रोकिँदैनौँ। जतिसुकै अवरोध भए पनि फुकाउँदै अघि बढ्छौँ।”

संविधानमा न्यायाधीशहरूको राजनीतिक अधिकारबारे उठेका प्रश्नमा उनले स्पष्ट धारणा दिइन्, “के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री बन्न संविधानले रोकेको छ ? भारतमा पनि न्यायाधीशहरू मन्त्री बनेका छन्। यहाँ यस्तो प्रश्न उठ्नु नै अचम्म छ।”

प्रधानमन्त्रीले नेपाली समाजको कार्यमुखी नबनिएको प्रवृत्तिप्रति चिन्ता जनाउँदै भनिन्, “कहिलेकाहीँ लाग्छ, हाम्रो समाज कुरा कुरामै बाँचेको छ। काम गर्न चाहँदैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छन्, तर यहाँ राजनीति गरेरै आर्यघाट पुगिन्छ।”

भावनात्मक स्वरमा उनले विगतका सङ्घर्षहरू सम्झिँदै भनिन्, “मैले गोली लागेका ती रक्ताम्य युवाहरू देखेको छु। गोलीको वर्षा भइरहेको जनसागरबीच नारा लगाइरहेका ती युवाको भावभङ्गी अझै मेरो आँखामा ताजा छ। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता त्यहीँबाट आएको हो।”

प्रधानमन्त्री सुशीला कार्कीको उक्त मन्तव्यले सरकारको सुशासनप्रति दृढता, सहिद र जनताको प्रति उत्तरदायित्व, र भ्रष्टाचारमाथिको शून्य सहनशीलताको सन्देश स्पष्ट रूपमा दर्शाएको छ । देशलाई स्थिरता, पारदर्शिता र आत्मविश्वासको बाटोमा लैजाने संकेत बालुवाटार संवादबाट झल्किएको छ।