काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन मूल्यांकन अन्यायपूर्ण रहेको भन्दै लेखा अधिकृतले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाका लेखा अधिकृत धनबहादुर साउदले प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टको कार्यसम्पादन मूल्यांकनमा पूर्वाग्रहपूर्ण व्यवहार भएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा निवेदन पेश गरेका हुन् ।
लेखा अधिकृत साउदले विगत छ वर्षदेखि आफूले निष्ठा, इमानदारी र अनुशासनपूर्वक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै, आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा दिइएको अंक अन्यायपूर्ण रहेको बताएका छन् । उनका अनुसार, कार्यालयका सबै आर्थिक क्रियाकलाप पारदर्शी रूपमा सञ्चालन गरेको भए पनि मूल्यांकन गर्दा वास्तविक उपलब्धिहरूलाई ध्यानमा राखिएको छैन ।
आर्थिक वर्षभरि लेखा शाखामा देखिएका अनियमितता सच्याउने, वार्षिक लेखा प्रतिवेदन समयमै तयार पार्ने, आन्तरिक लेखा परीक्षणका सुझावहरू कार्यान्वयन गर्ने तथा भुक्तानी प्रक्रिया तोकिएको समयमै सम्पन्न गर्ने जस्ता कार्यहरू आफूले निर्वाह गरेको साउदले बताए। यस विषयमा बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट तथा नगर प्रमुख भरत बडायर जोशीसँग सम्पर्क हुन सकेन।
नगरपालिकामा पछिल्लो समय कर्मचारीहरूबीच समन्वय नहुँदा सेवा प्रवाहमा असर परेको स्रोतले बतायो । त्यसमाथि, धेरै कर्मचारीले बारम्बार बिदामा बस्ने तथा कार्यालयको कामभन्दा व्यक्तिगत कामलाई प्राथमिकता दिने गरेको नगरपालिकाका एक कर्मचारीले बताए ।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव कृष्ण दत्त जोशीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकामा पठाएको छ । तर उनी कार्यभार सम्हाल्न पालिकामा पुगेका छैनन्।
प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अरूलाई नबाँडिएको र कल्पना भट्टले रमाना पत्र नलिएकाले हाल पनि उनी नै प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेको नगर प्रवक्ता खगेन्द्र बहादुर सिंहले बताए। नगर प्रमुख कामको सिलसिलामा काठमाडौँ गएको र भोलि जिल्ला फर्कने भएकाले आइतबार यस विषयमा थप छलफल हुने सिंहले प्रशासनलाई बताए ।









