काठमाडौँ । मठिया प्रहरी चौकी महुलिया र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मठिया रौतहटबाट संयुक्त रूपमा खटिएको प्रहरीले ११८ थान (एक हजार दरका) नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ गस्तीमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर०५एटी०९८३ नम्बरको मोटरसाइकल चेकजाँचका गर्दा मोटरसाइकलमा सवार व्यक्तिहरू भाग्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएर खानतलास गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रौतहट देवाही गोनाही नगरपालिका-४ का २० वर्षीय अजय पटेल, सोही नगरपालिकाका २१ वर्षीय गेनालाल पटेल र भारत बिहार पूर्वी चम्पारण-२ कुडवा चैनपुरका २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् ।
उनीहरूको साथबाट नक्कली नोटसहित मोटरसाइकल र तीन थान मोबाइल सेट पनि बरामद गरेको प्रहरीको भनाइ छ ।







