काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुंगे पुलको शिलान्यास गरेका छन् ।
बर्दियाका राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका-५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन् ।
शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको छ । पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब २ हजार घरधुरी लाभान्वित हुनेछन् । पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि बनाइनेछ ।
दौलतपुरघाटमा पुल नहुँदा डुंगाको प्रयोग गरी कर्णाली नदीमा जोखिमपूर्ण यात्रा हुँदै आएको छ । वर्षायामका डुंगाको प्रयोग गर्न नसकिने हुँदा आवतजावत नै बन्द हुने अवस्था रहेको छ । झोलुङ्गे पुलको निर्माण पश्चात् स्थानीय बासिन्दालाई बाह्रै महिना सहज रूपमा नदी वारपार गर्ने सुविधा उपलब्ध हुनेछ ।
शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणपछि टापुको रूपमा रहेका राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न योगदान पुग्ने बताएका छन्।







