काठमाडौँ । सुनचाँदी चोरीमा संलग्न एक जना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका-७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बाइपासको एक घरबाट सुनका गरगहना चोरी गर्ने लकाई डल्लुस्थित सीता ज्वेलर्सका सञ्चालक भएको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले पक्राउ परेका लकाईसँग सुनको नेकलेस १४ थान, सुनको लकेट नौ थान, सुनको मंगलसूत्र आठ थान, सुनको नौगेडी पाँच थान, सुनको पिस लकेट तीन थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लकाईसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







