काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव कमल भट्टराईलाई कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई मधेश प्रदेशको कामू प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि तत्कालीन प्रदेश प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएपछि उक्त पद रिक्त रहेको थियो। सो रिक्त अवधिमा संघका सहसचिव तथा प्रदेश सचिव रामकुमार महतोले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।
आजको बैठकबाट केही सचिवको सरुवा हुने भनिएपनि तत्काललाई भने रोकिएको छ ।







