काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कर्मचारीको वृत्तिविकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।
नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री खरेलले टेलिकमको गरिमा उँचो बनाउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
उनले टेलिकम क्षेत्रमा नीतिगत सुधार अत्यावश्यक रहेको बताउँदै संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर टेलिकमलाई अझ व्यावसायिक, प्रतिस्पर्धी र युग सुहाउँदो बनाउनुपर्नेमा जोड दिए।
मन्त्री खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा केन्द्रित भएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको उल्लेख गरे। उनले देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य रहेको बताए।
“यति बेला मुलुक परिवर्तनको मोडमा छ। नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढ्नुपर्ने समय आएको छ। जेन जेडको भावना अनुरूप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो,” उनले भने। उनले नागरिकलाई दलका नेताको दासका रूपमा होइन, विचार र दृष्टिकोणका आधारमा नेतृत्व छनोट गर्न आग्रह गरे।
“नयाँ राजनीतिक दलहरू एक आपसमा मिल्दै छन्, पुराना दलहरू पनि गठबन्धनतर्फ जान सक्छन्। यसले देशमा निर्वाचनको वातावरण बनेको छ। म यहाँबाट चुनावका सन्दर्भमा कुनै द्विविधा नराख्न आग्रह गर्दछु। मुलुक चुनावका लागि अघि बढिसकेको छ,” मन्त्री खरेलले बताए।







