काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राष्ट्रको पनि भएको बताएका छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौँमा आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले कमाएको नाफाबाट सरकारलाई कर प्राप्त हुने उल्लेख गरेका हुन्।
‘निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति लगानीकर्ताको मात्रै सम्पत्ति हैन, त्यो राष्ट्रको सम्पत्ति हो,’ खनालले भने, ‘त्यसमा क्षति हुनु भनेको राष्ट्रको क्षति हो। निजी क्षेत्रले कमाएको नाफा आफैले मात्र भोग गर्ने हैन। त्यही नाफाबाट सरकारलाई कर जान्छ। राजस्व आउँछ। कर्मचारीमा बोनस जाँदा आम्दानीको स्तर बढ्छ। समाजलाई सेवा गर्न सीएसआरमा खर्च गर्ने हो।’
प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रमा हुने गरेको भन्दै उनले निजी क्षेत्र र नागरिकबीच पनि समधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए।
‘मुलुकभित्र सिर्जना हुने सम्पत्तिको समष्टिगत समाजको लाभका निमित्त हो’, उनले भने, ‘त्यसमा क्षति पुग्नु र घात गरिनु भनेको हामी सबैका निमित्त क्षति हो।’
निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएकाले यसलाई आफ्नो भूमिका निर्वाह गर्न दिनुपर्नेमा अर्थमन्त्रीको जोड छ।
न्यून मूल्य वृद्धि, न्यून ब्याजदर, पर्याप्त तरलता, विदेशी मुद्राको सञ्चिति उच्चतम चालु खाता तथा शोधान्तर स्थिति बचतमा हुनुले अर्थतन्त्रका तथ्यांक सकारात्मक रहेको खनालले जोड दिए।
‘यो लगानीका निमित्त अनुकूल वातावरण हो। तर लगानी वृद्धिको दर ज्यादै कमजोर छ’, उनले भने।







