काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरूलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसबारे सरकारका हालैका काम कारबाहीले पनि संकेत गर्ने बताएका हुन् ।
विगतमा विभिन्न कारणले हेलचेर्क्याईं गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका योजनाहरूबाट जनताले धेरै दुःख पाइरहेको उनले बताए । विगतको सिकाइबाट अहिले नागरिकले पाउने सेवामा सहजता प्रदान गरिरहेको उनको दाबी छ ।
‘विकास आयोजनाहरूलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर छ । तपाईँहरूले यसको धेरै संकेत पाउनुभयो पनि होला । काम पनि भइरहेको छ,’ उनले भने, ‘विगतमा विभिन्न कारणले हेलचेर्क्याईं गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका कार्यक्रमले धेरै दुःख भएको छ । अहिले यसलाई विगतको सिकाइबाट कसरी सहजीकरण गर्ने भन्ने कुरा अहिलेको सरकारको सोच छ । त्यसतर्फ हामी काम गर्नेछौँ ।’







