काठमाडौँ । जेन जेड अभियन्ता अर्जुन शाहीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जेन जेड आन्दोलनको मूल भावना ओझेलमा पार्दै बिचौलिया र स्वार्थ समूहको प्रभावमा काम गरिरहेको आरोप लगाएका छन्।
काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनताको त्याग, बलिदान र युवा पुस्ताको आकांक्षाबाट जन्मिएको जेन जेड आन्दोलनलाई सत्ता जोगाउने राजनीतिक सौदाबाजीमा सीमित गरिँदै गएको दाबी गरे। उनका अनुसार जेन जेड आन्दोलन कुनै व्यक्ति, पद वा सत्ताका लागि नभई देशलाई नयाँ दिशामा अघि बढाउने साझा संकल्पका रूपमा सुरु भएको थियो।
शाहीले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद, घाइते युवाहरू तथा परिवर्तनको आशा राख्ने नागरिकहरूको अपेक्षा वर्तमान राजनीतिक अभ्यासबाट सम्बोधन हुन नसकेको बताए। “परिवर्तनका नारा बोकेकाहरू नै आज पुराना संरचना, अपारदर्शी निर्णय प्रक्रिया र दलाली प्रवृत्तिको संरक्षणमा उत्रिएको देखिन्छ,” भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
उनले सुशासन, जवाफदेहिता, युवाको नेतृत्व र भ्रष्टाचारविरुद्ध कठोर कदम जस्ता जेन जेड आन्दोलनका प्रमुख एजेन्डा कार्यान्वयनमा नआएको दाबी गरे। साथै, आन्दोलनलाई कमजोर पार्ने, आलोचनात्मक आवाज दबाउने र नेतृत्वलाई बदनाम गर्ने प्रयास भइरहेको आरोपसमेत लगाए।
शाहीले जेन जेड आन्दोलनका उपलब्धिहरू संस्थागत नगरी अघि बढे जनविश्वास कमजोर हुने चेतावनी दिँदै आन्दोलनको मूल भावना नबिर्सन सरकारसँग आग्रह गरे। उनले सबै सचेत नागरिक, युवा शक्ति र वैकल्पिक राजनीतिक धारलाई एकताबद्ध भई आन्दोलनका मूल्य र उद्देश्य जोगाउन आह्वान गरे।







