काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक सबलीकरणका प्रयासहरू परिणाममुखी बनाउन सीप विकासलाई प्रत्यक्ष आम्दानीसँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।
बुधबार आयोजित ‘काठमाडौँ बिजनेस एक्स्पो-२०८२’ को उद्घाटन समारोहमा बोल्दै उनले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल नगरेसम्म सशक्तीकरणसम्बन्धी नीतिगत प्रतिबद्धता व्यवहारमा पूर्ण रूपमा उतार्न कठिन हुने उल्लेख गरिन्। उनका अनुसार सीप विकासका कार्यक्रमहरू रोजगारी र आयआर्जनसँग प्रत्यक्ष सम्बन्धित नहुँदा अपेक्षित आर्थिक सुधार सम्भव हुँदैन।
कार्यवाहक प्रमुख डंगोलले नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित व्यवसाय प्रवर्द्धन गर्ने खालका मेला तथा प्रदर्शनीहरू निरन्तर आयोजना गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले तालिम तथा सीप अभिवृद्धि कार्यक्रमहरू उत्पादन, रोजगारी र व्यक्तिगत आय वृद्धिसँग जोडिनुपर्नेमा जोड दिइन्।
महानगरपालिकाको प्राथमिकता सीपमा आधारित उत्पादनलाई प्रोत्साहन गरी नागरिकको आम्दानी बढाउने र त्यसमार्फत स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने रहेको उनको भनाइ छ।







