काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छन्।
बुधबार महानगरको फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग सहरी सरसफाइको अभ्यास र दिगोपनाका लागि लिनुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा छलफल गर्ने क्रममा उक्त कुरा बताएकी हुन्।
यस्तै, उनले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका अघि कतै पनि फोहरका पोका थुप्रिएको अवस्थामा हुन नहुने बताइन्।
कार्यवाहक मेयर डंगोलले समस्या आउनुभन्दा अघि नै त्यो समस्या नआउने गरी काम गर्नुपर्नेमा जोड दिइन्।
महानगरले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न ७ क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको छ। रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल फोहरको दिगो व्यवस्थापनका विधिलाई प्रवर्धन गरिरहेको जनाएको छ।







