काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित दुई डेन्टल क्लिनिकलाई सिल गर्न सिफारिस गरेको छ ।
बिहीबार काउन्सिलले चार डेन्टल क्लिनिकमा अनुगमन गरेको थियो । जसमध्ये दुई क्लिनिकमा गैरचिकित्सकले काम गरेको पाइएपछि काउन्सिलले सिल गर्न काठमाडौँ महानगरपालिकालाई पत्र काटेको छ ।
काउन्सिलका अनुसार सर्वसाधारणबाट गुनासो आएपछि अनुगमन भएको हो । काउन्सिलका अनुसार पूजा डेन्टल क्लिनिक र नाइस स्माईल डेन्टलमा जनस्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । यी क्लिनिक सम्बन्धित निकायमा दर्ता नभएको, योग्य दन्त चिकित्सक तथा डेन्टल हाइजिनिस्ट नराखी सेवा सञ्चालन गरेको, अत्यधिक फोहोर तथा अस्वस्थकर वातावरणमा उपचार सेवा प्रदान गरेको भेटिएको छ ।
साथै उपकरणहरूको स्टेरिलाइजेशन नगरेको, दन्त सामग्री अव्यवस्थित राखिएको, बिरामीको अभिलेख नराखिएको तथा एक्स-रे मेसिन बिग्रिएको अवस्थामै प्रयोगका लागि राखिएको समेत भेटिएको काउन्सिलले जनाएको छ ।
त्यसैगरी आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको र सम्बन्धित डाक्टरसँग औपचारिक सम्झौता पत्र नभएको पाइएको छ । नागेश्वर डेन्टल होममा फुल-टाइम दन्त चिकित्सक नराखी पार्ट–टाइम चिकित्सकमार्फत मात्र सेवा सञ्चालन गरिएको भेटिएको छ।
काउन्सिलले यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिममा पारेको छ । काउन्सिलले नाइस स्माईल डेन्टल केयर प्रा. ली. र पूजा डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरेको छ । काठमाडौँ महानगरपालिकालाई आवश्यक कारबाहीका लागि पत्र समेत पठाएको छ ।







