काठमाडौँ । मलेसियाबाट नेपालमार्फत लागूऔषध ओसारपसार हुने नयाँ प्रवृत्ति देखिएको छ।
प्रहरीका अनुसार मलेसियाबाट ल्याइएको करिब १३ किलो ३३० ग्राम गाँजाभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ। सो सामान लिन आएको आरोपमा चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा निकायले जनाएको छ।
पक्राउ पर्नेमा सायद सदिक अली, महेश अशोक मोर्जे, मिर्जा नाजिर बैग र मो अजिम रहेका छन्। उनीहरूको साथबाट चार वटा झोलामा राखिएको गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ती व्यक्तिहरू मंगलबार साँझ करिब ८ बजे एयर इन्डियाको उडानमार्फत दिल्लीबाट काठमाडौँ आएका थिए। त्यसपछि करिब पौने १० बजे अवतरण गरेको मलेसियन एयरलाइन्स जहाजबाट आएको सामान लिन उनीहरू विमानस्थल परिसरभित्रै प्रतीक्षारत रहेका थिए। लामो समय शौचालय क्षेत्रमा बसेको देखिएपछि निगरानी बढाइएको र शंका लागेपछि नियन्त्रणमा लिँदा झोलामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
उक्त सामान नेपाल ल्याउने व्यक्ति वा समूहको पहिचान खुल्न बाँकी रहेको र त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ। पक्राउ परेकाहरूले भने हवाई टिकटको व्यवस्था र भारतीय १५ हजार रुपैयाँ पारिश्रमिक दिने सर्तमा आफूहरूलाई झोला लिन पठाइएको प्रारम्भिक बयान दिएका छन्।







