काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राजनीतिक ज्ञान र अनुभव आवश्यक हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेस म्याग्दीले आज रघुगंगा गाउँपालिका-२ भगवतीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक नेतृत्वमा ज्ञान र अनुभव भएमा मात्रै मुलुकको निकास र विकास सम्भव हुने धारणा राखेका छन्।
सामाजिक सञ्जालमा पुराना र नयाँको नाममा भ्रामक सामग्री राखेर विभाजन ल्याउने र जनतालाई झुक्याउने प्रयास भएको बताउँदै उनले अनुभवले पुराना र विचार तथा योजनाले नयाँ नेतृत्वले मात्रै मुलुकलाई सही बाटोमा लैजाने बताए । “उत्तेजनाको राजनीतिले मुलुकलाई अस्थिरतातर्फ लैजान्छ, मुलुक चलाउने कुरा क्षणिक लहडको कुरा होइन, मतदाताहरूले विवेक प्रयोग गरेर मतदान गर्नुपर्छ”, उनले भने ।
संघीयता कार्यान्वयनपछि मुलुकमा पूर्वाधार निर्माणले फड्को मारेको बताउँदै मुख्यमन्त्री पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा विकास निर्माणमा नेपालमा ठूलो परिवर्तन हासिल भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा र प्रतिनिधि सभा सदस्यका उम्मेदवार केवी भण्डारीले जिल्लाको विकास र संसद्मा कानुन निर्माणमा सक्रिय सहभागिताका लागि काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।







