बागमती । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदान पश्चात् उनले लोकतन्त्रलाई बलियो बनाउन मतदान स्वच्छ, निष्पक्ष निर्वाचन आवश्यक रहेको बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लाको दुवै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ । जिल्लाको ३७४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
मतदान जारी रहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए। मतदान केन्द्रमा महिला र पुरुषको छुट्टाछुटै लाइनमा बस्ने व्यवस्था मिलाइएको छ, भने आपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीलाई लाइनमा बस्न नपर्ने गरी विशेष व्यवस्था मिलाइएको प्रमुख ढकालले बताए ।
जिल्लाका १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र राखिएको छ । यसमध्ये १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। यस्तै मकवानपुरमा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको सहायक प्रजिअ जोशीले बताए ।
भीमफेदी कारागारमा रहेका ९९५ कैदीबन्दीमध्ये १६२ जनाको मतदाता नामावलीमा नाम समावेश रहेको भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले बताए ।
मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य ५ गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।







