काठमाडौँ । कम्बोडियामा विभिन्न प्रलोभनमा परी पुगेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
बैंककस्थित नेपाली राजदूतावासका अनुसार ती नेपालीहरूलाई कम्बोडिया सरकारले सहयोग पुर्याएपछि उद्धार प्रक्रिया सम्पन्न गरिएको हो। उद्धारपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई नेपाल पठाइएको राजदूतावासले जनाएको छ।
उक्त व्यक्तिहरू विभिन्न माध्यमबाट कम्बोडिया पुगेपछि अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिमा संलग्न गराइएको अवस्थामा भेटिएको जनाइएको छ। केही नेपाली बिना भिसा वा भिसाको अवधि सकिएपछि पनि त्यहाँ बसिरहेको अवस्था पनि पाइएको थियो।
राजदूतावासका अनुसार कम्बोडियामा अझै पनि अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका नेपाली नागरिकको पहिचान गरी स्वदेश फर्काउने पहल जारी रहेको छ। साथै नेपाली नागरिकलाई अनलाइन ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइने जोखिमबारे सतर्क रहन आग्रह गरिएको छ।







