काठमाडौँ । नयाँ सरकार गठनको तयारी चलिरहेका बेला सुदन गुरुङले राज्यका कामकारबाही एक क्षण पनि रोकिन नहुने भन्दै मन्त्रालयहरूलाई व्यवस्थित ट्रान्जिसनका लागि तत्काल तयारी सुरु गर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले सरकार परिवर्तनको संक्रमणकालमा पनि प्रशासनिक काम प्रभावकारी रूपमा अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। आगामी सरकारलाई सहज रूपमा कार्यभार सम्हाल्न सहयोग पुर्याउने उद्देश्यले सबै मन्त्रालयहरूलाई व्यवस्थित ट्रान्जिसनका लागि तयार पार्ने काम तुरुन्तै सुरु गर्ने उनले बताएका छन्।
उनका अनुसार अहिले देशका लागि समय अत्यन्त महत्वपूर्ण भएकाले प्रत्येक दिन, प्रत्येक घण्टा र प्रत्येक मिनेट राष्ट्रका लागि महत्वपूर्ण हुन्छ। यही सोचका साथ उनले आजदेखि नै आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूर्ण निष्ठाका साथ अघि बढाउने निर्णय गरेको बताएका छन्।
समय सीमित भए पनि सम्भव भएसम्म बाँकी रहेका समस्याहरू समाधान गर्ने प्रयास जारी रहने उनको भनाइ छ। पदभन्दा ठूलो कुरा काम र जिम्मेवारी हो भन्ने विश्वासका साथ आफू अहिले पूर्ण रूपमा कामतर्फ केन्द्रित भइसकेको पनि उनले उल्लेख गरेका छन्।
यसैबीच गुरुङले सामाजिक सञ्जालमा आफूलाई “जेठो छोरा”को रूपमा उल्लेख गर्दै देशप्रतिको जिम्मेवारी झन् बढेको बताएका छन्। उनले आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीबाट शुभकामना तथा आशीर्वाद ग्रहण गर्ने अवसर प्राप्त भएको पनि जानकारी दिएका छन्।
गुरुङले देशको सेवा नै आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै प्रशासनिक संयन्त्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्दै आगामी सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने वातावरण तयार पार्न आफू प्रतिबद्ध रहेको बताएका छन्।







