काठमाडौँ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रशासन डटकमकी पत्रकार भावना हमाल सम्मानित भएकी छन्। उपभोक्ता अधिकार संरक्षण, जनचेतना अभिवृद्धि तथा सार्वजनिक सरोकारका विषयमा सञ्चारमाध्यममार्फत पुर्याएको योगदानको कदर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनलाई सम्मान गरेको हो।
४२औँ विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले हमाललाई प्रशंसापत्र प्रदान गरे।
कार्यक्रममा मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटी, विभागका महानिर्देशक रोशन ज्ञवाली, उपभोक्ता अधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उपभोक्ता अधिकारको संरक्षण, सम्बर्द्धन तथा जनचेतना अभिवृद्धिमा सञ्चार माध्यममार्फत योगदान पुर्याएको भन्दै आयोजकले उनलाई सम्मान गरेको जनाएको छ। पत्रकार हमालले प्रशासन डटकममार्फत सार्वजनिक प्रशासन, रक्षा (डिफेन्स) तथा स्थानीय प्रशासनसँग सम्बन्धित विषयमा निरन्तर कलम चलाउँदै आएकी छिन्।
कार्यक्रममा उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय अन्य उपभोक्ता अधिकारकर्मी तथा सञ्चारमाध्यममार्फत यस विषयमा योगदान पुर्याएका अन्य सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो।







