काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु. पाँच लाख ३२ हजार ६२० बराबरका विभिन्न सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मिति २०८२ चैत ३ गते विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा तरकारी, कुखुरा, कपडा, किराना तथा अन्य सामग्री बरामद गरिएको हो ।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट करिब रु. ८२ हजार ५०० बराबरका विभिन्न तरकारी बरामद गरिएको छ भने मायादेवी गाउँपालिका-५ पर्सहवाबाट २० केजी ब्रोइलर कुखुरासहित करिब रु. १० हजार ५०० बराबरका सामान नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका-७ कासी कम्प्लेक्स नजिकबाट ४८६ मिटर कपडासहित करिब रु दुई लाख ४३ हजार बराबरका सामग्री बरामद गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ ओडलियाबाट १६० केजी केरा, १४ पिस साडी र ३८ पिस ब्लाउजको कपडासहित करिब रु. ४८ हजार ७०० बराबरका सामान नियन्त्रणमा लिइएको छ ।
यसैगरी कोटहीमाई गाउँपालिका-७ कटैयाबाट करिब रु. १० हजार ९०० बराबरका साइकलमा प्रयोग हुने सामग्री बरामद गरिएको छ भने सिद्धार्थनगर नगरपालिका-६ दुर्गा कलोनीबाट ४० केजी केरासहित करिब रु एक हजार ८५० बराबरका सामान फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका-१ खुनगाईबाट ३०० केजी चिनी, ६० केजी सराफ, २८ प्याकेट बिस्कुट, १ पेटी स्याम्पु लगायतका किराना सामग्री गरी करिब रु. ४९ हजार ५०० बराबरका सामान बरामद गरेको छ ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका-१ बेलहिया कोठहीमाई मन्दिर नजिकबाट १५ पिस लेडिज सुट, ३७ प्याकेट निक्सोडन क्रिम र एक कार्टुन किसमिससहित करिब रु. ८५ हजार ७०० बराबरका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ । जिल्लामा तस्करी नियन्त्रणका लागि नियमित रूपमा निगरानी तथा चेकजाँचलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्







