काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक दिनेश राउतलाई घुस रकम सहित पक्राउ गरेको छ ।
प्रहरी वृत्त मालीगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिन सहयोगको नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको कार्यालय टंगाल, काठमाडौँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्राप्त उजुरी र सूचनाका आधारमा आज काठमाडौँ महानगरपालिका वडा नं. ०५, गहनापोखरीबाट नायव निरीक्षक राउतलाई रु. २० हजार नगद र मोबाइल फोन (थान-१) सहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपाने बताए। यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।








