काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले रामबहादुर थापा ‘बादल’लाई संसदीय दलको नेता बनाउने प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
दलको नेताको दाबी युवा नेता सुहाङ नेम्वाङले पनि गरेका थिए। तर अन्ततः बादल निर्विकल्प रूपमा संसदीय दलको नेता चयन भएका छन्।
भट्टराईले भनेका छन्, “निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहु आयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपङ्तिलाई थप चिन्तित बनाएको छ।”
उनले थपे, “केही दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूबीच छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर निर्णय गरिएको हुँदा यो प्रक्रिया राम्रो नभएको हो।”
यस घटनाले पार्टी भित्रको नेतृत्व निर्णय प्रक्रियामा पारदर्शिता र समझदारीको महत्वलाई पुनः उठाएको छ। संसदीय दलको नेताको चयनमा असन्तुष्टि व्यक्त हुनुले पार्टी भित्रको छलफल र समन्वय प्रक्रिया अझ सुदृढ गर्ने आवश्यकता देखाएको छ।







