काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्न तथा बहु-च्यानल व्यवस्था मिलाउन परिपत्र जारी गरेको छ।
हेलो सरकार शाखामार्फत जारी परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूची कार्यान्वयनका लागि नागरिकका गुनासा, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी र परिणाममुखी रूपमा सम्बोधन गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, विभाग, प्रदेश तथा स्थानीय तहलाई निर्देशन दिइएको छ।
परिपत्रमा फोन, मोबाइल एप, वेब पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहु-च्यानल प्रणाली विकास गरी सञ्चालनमा ल्याउन भनिएको छ। साथै हेलो सरकार संयन्त्रलाई नागरिक संवादको प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्दै एकीकृत ड्यासबोर्डमार्फत गुनासो समाधानको प्रगति र अवस्थालाई ‘रियल टाइम’ मा अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।
त्यसैगरी गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई हेलो सरकार पोर्टलमा गुनासो सुन्ने तथा समाधान गर्ने पदाधिकारीको विवरण तत्काल अद्यावधिक गर्न र प्राप्त गुनासाहरूलाई शीघ्र तथा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।
प्रधानमन्त्री कार्यालयले उक्त परिपत्रअनुसार सबै तहका सरकारी निकायले गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारेको छ।







