काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग काठमाडौँ र बारामा जग्गा स्वामित्वमा रहेको छ।
विवरणमा काठमाडौँको बुढानीलकण्ठमा करिब ७० लाख रुपैयाँ र बारामा करिब ५० लाख रुपैयाँ मूल्य बराबरको जग्गा रहेको उल्लेख गरिएको छ। ती सम्पत्तिको स्रोतका रूपमा श्रीमानको आय देखाइएको छ।
त्यसैगरी, रावलसँग २५ तोला सुन रहेको उल्लेख छ, जसको स्रोत स्वआर्जन तथा परिवारबाट प्राप्त उपहार भनिएको छ।
बैंक बचततर्फ विभिन्न वित्तीय संस्थामा २४ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको जनाइएको छ, जसको स्रोत पनि श्रीमान्को आय उल्लेख गरिएको छ।
सम्पत्ति विवरणअनुसार उनले २०८२ साल जेठमा एभरेष्ट बैंकबाट २० लाख रुपैयाँ ऋण लिएको उल्लेख छ। साथै, करिब ४४ लाख रुपैयाँ मूल्यको सवारी साधन पनि स्वामित्वमा रहेको विवरणमा उल्लेख गरिएको छ।







