काठमाडौँ । राप्रपा संसदीय दलकी प्रमुख सचेतक खुश्बु ओलीले आफ्नो विरुद्ध सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा दुष्प्रचार र चरित्रहत्या गरिएको आरोप लगाउँदै साइबर ब्युरोमा कानुनी उजुरी दर्ता गरेकी छन्।
फेसबुक, युट्युब र टिकटकलगायतका प्लेटफर्ममार्फत व्यक्तिगत तथा सार्वजनिक जीवनमा नकारात्मक असर पार्ने उद्देश्यले आधारहीन सामग्री फैलाइएको दाबी गर्दै उनले कडा कानुनी कारबाहीको माग गरेकी हुन्।
उजुरी दर्तापछि उनले प्रारम्भिक चरणमै सम्बन्धित केही व्यक्तिहरूलाई यस्तो गतिविधि रोक्न सचेत गराइएको भए पनि सो आग्रहलाई बेवास्ता गर्दै निरन्तर दुष्प्रचार गरिएको कारण अन्ततः कानुनी प्रक्रिया अघि बढाउन बाध्य भएको बताएकी छन्।
उनका अनुसार यस्ता गतिविधि सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको सीमाभित्र नपर्ने र योजनाबद्ध रूपमा गलत सूचना प्रवाह गर्दै व्यक्तिगत तथा राजनीतिक छवि बिगार्ने उद्देश्यले सञ्चालन गरिएको देखिएको छ।
सांसद ओलीले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने र त्यसबाट फाइदा लिने प्रवृत्तिलाई गम्भीर सामाजिक चुनौतीका रूपमा लिँदै यस्ता क्रियाकलापलाई सामान्य रूपमा नलिन आग्रह गरेकी छन्।







