काठमाडौँ । प्रतिनिधि सभाको कार्य सञ्चालनसम्बन्धी नियमावलीको मस्यौदा आजै समितिबाट स्वीकृत गर्ने तयारी गरिएको छ।
मस्यौदा समितिका सभापति गणेश पराजुलीका अनुसार महाभियोग प्रक्रियासहित केही बाँकी विषयमाथि आज छलफल गरी टुंगो लगाउने कार्यसूची तय गरिएको छ। अन्य अधिकांश प्रावधानमा सहमति जुटिसकेको जनाइएको छ।
समितिलाई दिइएको १४ दिनको समय सीमा मंगलबार समाप्त हुने भएकाले निर्धारित अवधिभित्रै मस्यौदालाई अन्तिम रूप दिन तयारी तीव्र पारिएको सदस्यहरूले बताएका छन्।
तयार पारिएको मस्यौदामा विगतका संसदीय अभ्यास तथा ऐतिहासिक अनुभवलाई समेट्दै वर्तमान शासन प्रणाली अनुसार आवश्यक नयाँ व्यवस्थाहरू समावेश गरिएको उल्लेख छ। विशेष गरी २०१६ सालपछिका संसदीय अभ्यासलाई आधार मान्दै प्रावधानहरू परिमार्जन गरिएको जनाइएको छ।
प्रस्तावित नियमावलीले आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाको कामकारबाही व्यवस्थित गर्ने, विधायन प्रक्रियालाई प्रभावकारी बनाउने, सांसदहरूको भूमिका स्पष्ट र सुदृढ गर्ने तथा कार्यपालिकालाई उत्तरदायी बनाउने उद्देश्य राखेको छ। साथै व्यवस्थापिकाको संस्थागत गरिमा जोगाउने पक्षलाई प्राथमिकतामा राखिएको छ।
समितिले यसअघि सभामुख डोलप्रसाद अर्याल तथा पूर्वमहासचिवहरूसँग परामर्श गरी सुझाव संकलन गरिसकेको छ। यसका अतिरिक्त सरोकारवालासँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल सञ्चालन गरिएको पनि जानकारी दिइएको छ।
मस्यौदा तयार गर्दा विद्यमान कानुनी व्यवस्था, अदालतका निर्णयहरू तथा प्रतिनिधि सभाबाट पूर्वनिर्मित कानुनहरूको दायराभित्र रहेर काम गरिएको समितिको भनाइ छ।







