काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले स्थगित भएको वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमका लागि नयाँ मिति निर्धारण गरेको छ। महासंघको ६०औँ वार्षिक साधारण सभा आगामी वैशाख २१ गते आयोजना गर्ने निर्णय गरिएको हो।
महासंघद्वारा शुक्रबार जारी सूचनाअनुसार यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम स्थगित भएपछि संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो।
नयाँ तालिकाअनुसार उद्घाटन सत्र वैशाख २१ गते काठमाडौँस्थित होटेल रोयल टुलिपमा सञ्चालन हुनेछ।
त्यसैगरी निर्वाचन कार्यक्रम वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिने महासंघले जनाएको छ।
महासंघले साधारण सभा र निर्वाचनसँग सम्बन्धित विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइसकेको जानकारी दिएको छ।
साथै सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।







