काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दलभित्रका प्रमुख जिम्मेवारीहरू २४ घण्टाभित्रै टुङ्ग्याइने बताएका छन्।
दलको नेतृत्व सम्हालेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संख्यात्मक उपस्थितिभन्दा स्पष्ट दृष्टिकोण र नीतिगत दिशा महत्वपूर्ण हुने उल्लेख गरे।
उनका अनुसार विचारमा स्पष्टता भए मात्र राजनीतिक गन्तव्य सुनिश्चित हुने धारणा रहेको छ।
आङ्देम्बेले सत्तामा रहेका दलहरूलाई सकारात्मक मार्गदर्शन गर्ने, आवश्यक विषयमा सहकार्य गर्ने तथा लोकतान्त्रिक मूल्य र अभ्यास कमजोर भएमा सचेत गराउने भूमिका निर्वाह गरिने बताए। उनले प्राप्त जिम्मेवारीप्रति आफूहरू गम्भीर रहेको पनि स्पष्ट पारे।
नयाँ विधान अनुसार आफू दलको नेताका रूपमा चयन भएको उल्लेख गर्दै उनले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई हस्तक्षेपका रूपमा नभई पार्टी र संसदीय संरचनाबीचको समन्वयात्मक अभ्यासका रूपमा बुझ्नुपर्ने धारणा राखे। देशका चुनौती समाधानका लागि यस्तो समन्वय आवश्यक रहेको उनको भनाइ छ।
दलको नेतृत्व चयनसम्बन्धी छलफलमा विभिन्न मत भए पनि अन्ततः सहमतिमै निष्कर्षमा पुगेको उनले जानकारी दिए।
संसदीय दलका प्रमुख सचेतक र सचेतकको जिम्मेवारी २४ घण्टाभित्र टुङ्ग्याइने बताउँदै आङ्देम्बेले दलका कामकारबाही तत्कालै अघि बढ्ने जानकारी दिए। उनका अनुसार आवश्यक निर्णयहरू क्रमशः सार्वजनिक गरिनेछ।







