काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी विवरणले नेपालमा प्रगति नभएको भन्ने धारणा तथ्यगत रूपमा कमजोर बनाएको बताएका छन्।
अर्थमन्त्रीद्वारा सार्वजनिक पछिल्लो आर्थिक स्थिति सम्बन्धी विवरणमा समेटिएका तथ्यांकहरूले विगत दशकमा विभिन्न क्षेत्रमा उल्लेखनीय सुधार देखाएको चालिसेको दाबी छ। उनका अनुसार, देशको अवस्था अव्यवस्थित रहेको भनिएको अवधिमै पनि आर्थिक तथा सामाजिक सूचकांकहरूमा प्रगति देखिएको छ।
चालिसेले उल्लेख गरेका प्रमुख तथ्यांक अनुसार आर्थिक वर्ष २०७२-७३ मा २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०८१-८२ सम्म आइपुग्दा ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। यसै अवधिमा आर्थिक वृद्धिदर ०.४३ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेको जनाइएको छ।
प्रतिव्यक्ति आम्दानी ८९९ अमेरिकी डलरबाट वृद्धि भई १,५१७ अमेरिकी डलर पुगेको विवरणमा उल्लेख छ। ऊर्जा क्षेत्रमा विद्युत् उत्पादन ६९७ मेगावाटबाट बढेर ४,१०५ मेगावाट पुगेको छ भने देशको ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच विस्तार भएको जनाइएको छ।
पूर्वाधारतर्फ कालोपत्रे सडक सञ्जाल ११ हजार ७९८ किलोमिटरबाट बढेर २० हजार २०२ किलोमिटर पुगेको तथ्यांक सार्वजनिक गरिएको छ। राजस्व संकलन ४ खर्ब ५ अर्ब रुपैयाँबाट बढेर ११ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।
विदेशी मुद्रा सञ्चिति १० खर्ब ३९ अर्ब रुपैयाँबाट वृद्धि भई ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको र यसले १८.५ महिनासम्मको आयात धान्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ।
सामाजिक क्षेत्रका सूचकांकमा पनि सुधार देखिएको विवरणमा जनाइएको छ। साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६.३५ प्रतिशत पुगेको छ भने गरिबीको रेखामुनि रहेको जनसंख्या २५.१६ प्रतिशतबाट घटेर २०.२७ प्रतिशतमा झरेको छ।
स्वास्थ्यतर्फ मातृ मृत्युदर १९० बाट घटेर १५१ मा पुगेको, शिशु मृत्युदर ३२ बाट २८ मा झरेको तथा औसत आयु ७१.४ वर्ष पुगेको तथ्यांक सार्वजनिक गरिएको छ।







