काठमाडौँ । सरकारले केही सहसचिवहरूको सरुवा गर्दै छ । केही दिनअघि गरिएको सरुवामा विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई प्रदेशमा पठाइएपछि संघीय मन्त्रालयहरूमा रिक्त रहेका पद पूर्तिका लागि पुनः सरुवा गर्न लागिएको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार अर्थ तथा गृह मन्त्रालयमा सहसचिव पठाउने तयारी गरिएको छ। अघिल्लो सरुवाका क्रममा गृह र अर्थ मन्त्रालयबाट करिब एक दर्जन सहसचिव प्रदेशमा सरुवा गरिएको थियो। ती पद रिक्त भएपछि पहिलो चरणमा अर्थ मन्त्रालयमा खटाइने सहसचिवहरूको सूची सम्भवतः आज वा भोलिसम्म प्रमाणीकरण हुने उच्च स्रोतले जनाएको छ। उक्त सूचीमा कम्तीमा तीनदेखि पाँच जनासम्म सहसचिव समावेश हुन सक्नेछन्।
यसैबीच, अर्थ मन्त्रालयका पुराना तथा चर्चामा रहेका सहसचिवहरू प्रदेशमा पठाइएसँगै अब उक्त मन्त्रालयमा को-को आउने भन्ने विषयमा प्रशासनिक वृत्तमा चासो र चर्चा बढेको छ।







