काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा नियमित सेवा प्रवाह नरोकिने गरी सञ्चालन सुनिश्चित गर्न निर्देशन जारी गरेको छ।
हालै पदाधिकारीहरू पदमुक्त हुने कानुनी व्यवस्थापछि कतिपय संस्थामा प्रशासनिक तथा व्यवस्थापकीय काम प्रभावित हुन सक्ने अवस्था देखिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
यससँगै दैनिक सेवा, प्रशासन र शैक्षिक गतिविधि निरन्तर सञ्चालन गर्न सम्बन्धित विभागीय प्रमुखलाई जिम्मेवारीसहित सक्रिय हुन आग्रह गरिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था लागू गर्ने अध्यादेश जारी गरेपछि विभिन्न स्वास्थ्य संस्थामा कार्यरत पदाधिकारी स्वतः पदमुक्त भएका थिए।
सो व्यवस्थाको प्रभाव स्वास्थ्य क्षेत्रका प्रतिष्ठान तथा अस्पतालहरूमा समेत परेको छ।
मन्त्रालयले पदमुक्त भएका पदाधिकारीको अनुपस्थितिमा सेवा अवरुद्ध हुन नदिन बाँकी जिम्मेवार पदाधिकारी तथा विभागीय प्रमुखलाई उपचार सेवा, प्रशासनिक कार्य र शैक्षिक गतिविधि नियमित रूपमा अघि बढाउन स्पष्ट निर्देशन दिएको छ।
मन्त्रालयद्वारा जारी सूचनामा कुनै पनि कारणले अस्पतालको उपचार सेवा तथा शैक्षिक कार्यक्रम प्रभावित हुन नदिन सबै सम्बन्धित निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख छ।
साथै, कार्यान्वयनका क्रममा समस्या देखिए मन्त्रालयसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ।








