काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर वि.सी ले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि सिसाको गिलास प्रहार गरेका छन्।
पालिका स्रोतका अनुसार वैशाख २१ गते दिउँसो करिब २ बजे अध्यक्ष वि.सी. ले आफ्नै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई लक्षित गरी सिसाको गिलास प्रहार गरेका हुन्। घटना कार्यालयको नियमित कामकाजका क्रममा भएको बताइएको छ।
स्रोतका अनुसार अध्यक्षको कार्यकक्षमा पालिकाका अन्य कर्मचारीसमेत उपस्थित रहेका बेला सामान्य विषयमा विवाद उत्पन्न भएको थियो। सोही क्रममा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेका हुन्।
पालिका स्रोतले अनियमित इन्धन प्रयोग, अध्यक्षले होटेलमैत्री कार्यक्रम सञ्चालन गर्न खोजेको विषय तथा विभिन्न असम्बन्धित व्यापारिक व्यक्ति र संघ-संस्थासँगको सम्बन्धबारे प्रमुख प्रशासकीय अधिकृत घर्तीले असहमति जनाउँदै आएको जनाएको छ।
त्यस्तै अध्यक्षले कार्यालय प्रयोजनका सामान आफैँ खरिद गर्ने गरेको, अध्यक्षकै दराजमा हालसम्म विभिन्न सामग्री रहेको तथा ती सामग्रीको बिल भुक्तानीसमेत नभएको अवस्था रहेको स्रोतको दाबी छ।
घटनापछि प्रमुख प्रशासकीय अधिकृत घर्ती कार्यालय नगएको र उनले प्रमुख जिल्ला अधिकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई घटनाबारे जानकारी गराइसकेको स्रोतले जनाएको छ। सुरक्षाको कारण उक्त स्थानमा रही काम गर्न नसक्ने जानकारीसमेत मन्त्रालयलाई गराइएको बताइएको छ।
पालिका स्रोतका अनुसार अध्यक्ष वि.सी. ले यसअघि पनि प्रमुख प्रशासनिक अधिकृत तथा शिक्षा शाखा प्रमुखमाथि रजिस्टर ढड्डा प्रहार गरेका थिए। यस विषयमा अध्यक्षसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।







