काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबार परिसरमा सञ्चालित एक क्यान्टिनलाई उपभोक्ता अधिकार उल्लंघन गरेको आरोपमा २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत रहेको ‘हाम्रो खाजा घर’मा म्याद नाघेको दही बिक्रीका लागि राखिएको पाइएपछि विभागले उक्त कारबाही गरेको जनाएको छ।
उपभोक्ताबाट आएको गुनासोको आधारमा बुधबार गरिएको आकस्मिक अनुगमनका क्रममा उक्त क्यान्टिनमा म्याद समाप्त भइसकेको खाद्य सामग्री फेला परेको विभागको भनाइ छ।
विभागका अनुसार यो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसारको कसुरमा पर्ने भएकाले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम जरिवाना निर्धारण गरिएको हो।
यस प्रकरणसँगै दही उत्पादक ‘श्री कृष्ण डेरी फर्म’लाई व्यवसाय दर्तासम्बन्धी कागजात पेश गर्न निर्देशन दिइएको छ। त्यस्तै, ‘हाम्रो खाजा घर’लाई सम्बन्धित खरिद बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
सरकारी प्रशासनिक केन्द्रभित्रै यस्तो प्रकारको अनियमितता भेटिएपछि विभागले आगामी दिनमा अनुगमनलाई अझ सशक्त बनाउने संकेत गरेको छ।








