काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभा बैठकमा नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा दलका तर्फबाट सम्बोधन गर्ने क्रममा उनले सेनाको भूमिकासम्बन्धी टिप्पणी गरेका हुन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै बादलले, ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो ?’ भन्ने प्रश्न गरेका थिए ।
एमालेको तर्फबाट रोष्ट्रम प्रयोग गरेका उनले सेनाको भूमिकाबारे अर्को प्रश्न पनि उठाए । उनले भने, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ ?’
नेता बादलको उक्त अभिव्यक्तिप्रति सदनभित्रै विरोधसमेत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।
राप्रपाकी सांसद ओलीले नेपाली सेनामाथि गरिएको टिप्पणीले राष्ट्रिय मनोबलमा असर पुग्ने धारणा राखिन् । ‘नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार हो । यो उहाँबाट निरन्तर भइरहेको छ त्यसमा म खेद प्रकट गर्न चाहन्छु,’ उनले भनिन् ।







