काठमाडौँ । प्रतिनिधि सभामा न्यायाधीशसम्बन्धी अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आपत्ति जनाएको छ।
बुधबारको प्रतिनिधि सभा बैठकमा काँग्रेसका सचेतक निष्कल राईले संसदमा न्यायाधीशका विषयमा गरिएको टिप्पणी संविधानको व्यवस्था विपरीत रहेको बताएका हुन्। उनले अघिल्लो दिन रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति असहमति जनाए।
राईले संविधानले अदालतमा विचाराधीन मुद्दा तथा न्यायाधीशले कार्यसम्पादनका क्रममा गरेका न्यायिक कामबारे संघीय संसद्मा छलफल गर्न निषेध गरेको उल्लेख गरे। महाअभियोगको अवस्था बाहेक न्यायाधीशसम्बन्धी विषय सदनमा उठाउन नपाइने संवैधानिक व्यवस्था रहेको उनको भनाइ थियो।
सत्तारूढ दलका सांसदबाट संसद्को रोस्ट्रम प्रयोग गरी न्यायपालिका लक्षित टिप्पणी हुनु संसदीय मर्यादा र संवैधानिक सीमाभन्दा बाहिरको विषय भएको उनले बताए। साथै, यस्ता विषय उठ्दा सभामुखले तत्काल ध्यान दिनुपर्ने धारणा पनि उनले राखेका छन्।
राईले संसदमा असंवैधानिक वा न्यायिक प्रक्रियामा असर पार्ने खालका अभिव्यक्ति दोहोरिन नदिन सभामुखबाट आवश्यक रुलिङ हुने अपेक्षा व्यक्त गरेका छन्।






