काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय प्रमुख फेरिएसँगै नयाँ सवारीसाधन, फर्निचर तथा विद्युतीय सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न सरकारी निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले बिहीबार(आज) परिपत्र जारी गर्दै मन्त्रालय, आयोग, विभाग, कार्यालय तथा निकायहरूमा नयाँ प्रमुख नियुक्ति, पदस्थापन वा सरुवापछि कार्यकक्षमा रहेका सामग्री परिवर्तन गर्ने क्रम बढेको भन्दै मितव्ययिता अपनाउन निर्देशन दिएको हो ।
परिपत्रमा टेबल, कुर्सी, सोफा, कार्पेट, पर्दा, एसी, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्री नयाँ खरिद गर्दा राज्यकोषमा अनावश्यक व्ययभार परेको उल्लेख गरिएको छ । प्रधानमन्त्री कार्यालयले यस्ता सामग्री मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थामा पनि नयाँ खरिद गर्ने प्रवृत्तिले आर्थिक अनुशासनमा असर पुगेको जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले अत्यावश्यक अवस्थाबाहेक नयाँ सामग्री खरिद नगर्न तथा कार्यालयमा मौज्दात रहेका सामग्रीको मर्मत सम्भार गरी पुनः प्रयोगमा ल्याउन निर्देशन दिएको छ ।
सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन उक्त निर्देशन जारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।








