काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको अभिव्यक्तिले वर्तमान सरकारको राजनीतिक तथा वैचारिक दिशा स्पष्ट रूपमा उजागर गरेको दाबी गरेका छन्।
उनका अनुसार अर्थमन्त्रीले “हामी कम्युनिस्ट होइनौँ” भन्ने टिप्पणीमार्फत सरकारको वैचारिक पहिचान र राजनीतिक धारबारे थप स्पष्टता आएको हो। बस्नेतले यसलाई सरकारको चरित्र सार्वजनिक रूपमा प्रकट हुने संकेतका रूपमा व्याख्या गरेका छन्।
उनले सरकार गठन भएयता संविधानको मर्ममाथि असर पार्ने, कानुनी संरचनामा हस्तक्षेप गर्ने, न्यायपालिकालाई दबाबमा पार्ने तथा संसदीय प्रणालीलाई कमजोर बनाउने खालका गतिविधि बढ्दै गएको आरोपसमेत लगाए।
त्यसैगरी, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीको संसद्भित्रको व्यवहारले सरकारको कार्यशैली, सोच र राजनीतिक संस्कार झन् प्रस्ट भएको उनको भनाइ छ।
बस्नेतले वर्तमान नीतिगत अभ्यासप्रति आलोचना गर्दै गरिब, श्रमिक, सुकुम्वासी, दलित, विद्यार्थी, शिक्षक तथा मजदुर वर्गमाथि निरन्तर दबाब सिर्जना भइरहेको टिप्पणी गरेका छन्। उनका अनुसार जनताका समस्या उपेक्षा गर्ने, विकासभन्दा विस्थापनलाई प्राथमिकता दिने र अधिकारका मागप्रति दमनात्मक दृष्टिकोण अपनाउने प्रवृत्ति कुनै पनि कम्युनिस्ट चरित्रसँग मेल नखाने उनको जिकिर छ।
उनले कम्युनिस्ट विचारधाराको मूल मर्म श्रमको सम्मान, उत्पीडित वर्गको पक्षधरता र जनअधिकारको संरक्षण भएको उल्लेख गर्दै वर्तमान अभ्यास त्यस विपरीत देखिएको टिप्पणी गरे।
यसै क्रममा उनले राज्य संयन्त्रलाई प्रतिशोधात्मक रूपमा प्रयोग गरिएको, युवाको भविष्य अनिश्चित बनाइएको तथा श्रमिक आवाज दबाइएको आरोप पनि दोहोर्याए।
बस्नेतले आफूलाई लिबरल डेमोक्रेट भनेर चिनाउने पक्षहरूले समेत लोकतान्त्रिक मूल्य र मान्यता विपरीत व्यवहार प्रदर्शन गरिरहेको आरोपसमेत सार्वजनिक गरेका छन्।







